लाहुरे बन्ने शोखले खेलकुदमा जोडिएका ‘दिपक’

1258
  • 1.4K
    Shares

केशब पाठक,
पोखरा, २५ बैशाख । ‘लाहुरे हुन खेलकुदमा छिरे, सायद उमेर १४–१५ को थियो होला, बुवाले ल अब लाहुरे हुन पर्छ केही खेलकुद सिकेर अगाडी वढ् भन्नुभयो, अनि जुन दिन देखि खेलकुद छिरे त्यो दिन देखि बाहिर छैन ।’

भर्खरै ४२ टेकेका दिपक गोदारले २६ वर्ष अघिको विगत कोट्याउँदै भने–‘उती बेला बाहिर निस्कन डर लाग्थ्यो, तर खेलकुदमा जोडिए पछि त्यो डर भाग्यो, न भोक न चिन्ता एकनासले खेलकुदमा लागियो ।’

बुवा कृष्ण बहादुर गोदार नेपाल प्रहरीमा कार्यरत थिए । उनी आफै पनि जुडोका खेलाडी थिए । तर उनले दिपकलाई खेलकुद तर्फ नजान सुझाउँथे । परिवारले दिपकलाई लाहुरे बनाउने सपना बुनेका थिए । लाहुरे बन्न नै खेलकुदमा छिरे । ‘उती बेला लाहुरे बन्ने विदेश जाने शोख खुवै थियो, कल्कल्याउँदो उमेर नहुने कुरै थिएन’ बैशाखको चिढ्चिढाउँदो गर्मीमा पसिना पुच्छ्दै उनले भने–‘लाहुरे बन्न तिन महिनाका लागि खेलकुद छिरेको अहिले २६ वर्ष भएछ ।’

दिपकले परिवारको लाहुरे बन्ने सपना लत्याउँदै विद्यार्थी जिवनकाल देखि नै २०४९ साल बाट खेलमा प्रवेश गरे । २०५० सालमा बक्सिङ तिर मन जोडे । तर २०५२ मा उनी मार्शल आर्टको खेल करातेमा छिरे । २०५४ बाट नै स्वयंसेबी प्रशिक्षक बने । निरन्तर अहिले सम्म त्यो यात्रा जारी छ ।

खेलकुदमा लागे पछि बाबाले घरमा दिपकलाई दिनहुँ दुध पिउने बातावरण मिलाए । उनलाई सुनमा सुगन्ध जस्तै भयो । घरमा भएको जर्शी गाईलाई दैनिक घाँस काट्ने, दुध दुहुने अनि पिउने । ‘घरमा संघै दुध, खिर, दही, मही खाएर नै हुर्कियो, त्यो बेलाको घरको अर्गानिक खानपानले अहिले सम्म शरिर स्वस्थ छ’ दिपक भन्छन–‘त्यही भएर पनि होला खेलकुदमा अझै धेरै गर्ने जाँगर छ ।’

खेलकुदमा आफ्नो जिवनको २६ वर्षको जिवन अर्पण गरेका दिपकलाई कुनै पश्चताप छैन । ‘उती बेला अन्जानबस पढाईमा ध्यान नदिंदा पढाई विग्रियो’ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जितेका ४२ वटा पदक, शिल्ड र प्रमाणपत्रले सबै दुःख विर्साउँदो रहेछ’ दिपक भन्छन–‘२४ वर्ष देखि निरन्तर स्वयसेवी प्रशिक्षक बनेर खेलकुदमा सेवा गरेको छु यो नै मेरो जिवनका लागि गौरवको विषय हो ।’

थाइ बक्सिङ(मुआथाई)का नेपालका प्रमुख प्रशिक्षक समेत रहेर अगाडी वढिरहेका दिपकले फुल कन्ट्याक्ट करातेमा समेत धेरै खेलाडी उत्पादन गरिसकेका छन । उशुकी खेलाडी ओलम्पियन झरना गुरुङ कुनै बेला फुल कन्ट्याक्ट दिपक बाटै प्रशिक्षित थिइन । मुआथाईका खेलाडी कुमार थापाले १६ वर्ष मुनी कोरियामा खेल जित्दा उनकै चेला थिए । आठौं राष्ट्रिय खेलकुदमा फुल कन्ट्याक्टमा खुल्ला तर्फ स्वर्ण पदक जित्ने रुपक नेपाली उनकै चेला हुन ।

पोखरामा फुल कन्ट्याक्ट तर्फका खेलाडी शुष्मी श्रेष्ठ, नविन मल्ल, बिजय आले, लाल बहादुर छन्त्याल, पुजा कार्की जस्ता होनहार खेलाडी जन्माउने दिपक संग अहिले पनि दैनिक ५० जनाले बिहान र साँझ गरि प्रशिक्षण लिइरहेका छन । ‘यहाँ सिक्न आउने सबै खेलाडी बन्न त सक्दैनन, सबैको घरमा आ–आफ्नो समस्या हुन्छ’ उनले भने–‘हामी संग सिक्न आउने धेरै जना यूवाहरुको लाहुरे बन्ने नै हुन्छन, हामी संगको प्रशिक्षण पछि प्राप्त हुने प्रमाणपत्र उनीहरुको भविष्यका लागि पनि निकै सहयोगी बनेको छ ।’

जिल्ला खेलकुद बिकास समिती कास्कीका कोषाध्यक्ष समेत रहेका दिपक सबै खेललाई उत्तिकै माया र आदर गर्छन । नम्र बोली र संधै हाँसेर तार्किक जवाफ दिने दिपक भविष्यको योजनाका बारेमा समेत उत्तिकै गम्भिर हुँदै सुनाउँछन–‘मुआथाईलाई ओलम्पिकमा जोड्ने अनि नेपाली खेलाडीलाई ओलम्पिक एरिनामा पुर्याएर पदक हासिल गर्ने ।’ अहिले उनी यहि वर्ष हङकङमा हुने विश्व मुआथाई च्याम्पियनशिपका लागि तयारी गरिरहेका छन भने यहि वर्षको असारमा नेपालमा आयोजना हुने विश्व मुआथाई क्लब स्तरिय प्रतियोगिताको तयारी पनि यिनकै काँधमा आएको छ ।

खेलकुदको आमूल परिवर्तन संगै खेलाडीको जिवनमा समेत परिवर्तन हुनु पर्ने र खेलकुद नै जिवन जिउने आधार हुनु पर्छ भन्ने दृढ मनशायका साथ अगाडी बढेका दिपकको खेलकुद सिकाएको अनुशासित जिवनका पाठहरु पढ्न सकिन्छ । खेलकुदमा भिजेका उनी क्षेत्री समाज यूवा बिभागको पनि केन्द्रिय अध्यक्ष हुन भने क्यूकिशन बुदोकाई कराते संघका केन्द्रिय उपाध्यक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको अध्यक्ष समेत हुन । खेलकुदलाई अभिन्न अंग ठान्ने दिपकका दुई छोरा र श्रीमतीका साथ खेलकुदका जिवनका आगामी दिनहरुलाई सुनौलो बनाउन अगाडी वढिरहेका छन ।


  • 1.4K
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here